काइके गाउँपालिकाका अध्यक्षले राेके चामल वितरण

फरक मिडिया २९ चैत्र २०७८, बुधबार



डाेल्पाकाे काइके गाउँपालिकाको सरहताराका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट लिएको चामल गाउँपालिकाका अध्यक्ष अंगदकुमार रानाले विवरणमा रोक लगाएका छन् ।

चालु आर्थिक वर्षका लागि लिएको दुई हजार पाँच सय क्विन्टल चामलमध्ये सात सय क्विन्टल चामल विवतरण गरिसकेको छ । बाँकी भर्खरै मात्र लिएको पाँच सय क्विन्टल चामल वितरणमा रोक लगाएको हो । चार हजार पाँच सय जनसंख्या रहेको काइके गाउँपालिकामा सबैलाई पुग्ने गरी चामल ढुवानी नगरेसम्म लिएको चामल वितरण गर्न नदिने गाउँपालिका अध्यक्ष रानाले टेलिफोनमा जानकारी दिए ।

काइके गाउँपालिकामा अझै एक हजार तीन सय क्विन्टल चामल ढुवानी गर्न बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कमलराज पाण्डेले जानकारी दिए । अहिले गएको जती चामल वितरण भइदिए केही समस्या हल हुने प्रमुख पाण्डेले बताए । चामल वितरणमा रोक लगाएपछि नयाँ चामल लिन ठेकेदार कम्पनीलाई समस्या हुने उनको भनाइ छ ।

पहिला लिएको चामल बिक्री गरेपछि मात्र ठेकेदारलाई आफूहरूले रकम भुक्तानी दिने गरेको उनले बताए । गाउँमा आएको चामल समेत वितरण गर्न नदिएर गाउँपालिकाका अध्यक्षले राजनीति गर्न खोजेको स्थानीयकाे आराेप छ । जुफाल र दुनैमा पनि चामलको संख्या कम रहेको उनले बताए । मुस्किलले एक हजार क्विन्टल चामल रहेको उनले बताए । अन्य पालिकामा समेत खाद्यान्न अभाव रहेको उनले बताए ।