घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा निर्माणधिन पेमा होईबार्लिङ गुम्बाको स्वरुप बदलिदै

बिर्ख वाईबा तामाङ ७ असार २०७९, बुधबार



घ्याङलेख सिन्धुली। सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा निर्माणधिन पेमा होईबार्लिङ गुम्बाको निर्माणकार्य तिव्र गतिमा अगाडि बढिरहेको छ। ४ करोड ५० लाखको योजनामा निर्माण भैरहेको सुविधा सम्पन्न गुम्बा हालसम्म प्रदेश सरकारको बजेटबाट २० लाख बराबरको काम सम्पन्न भैसकेको छ। हाल प्रदेश सरकारबाटै थप १० लाख बजेट बराबरको काम भैरहेको छ। यो पछिल्लो योजना एक हप्ताभित्र सकिने अनुमान गरिएको छ। गुम्बा निर्माणको लागि व्यक्तिगत र संस्थागत गरि १० लाख सहयोग रकम संकलन भैसकेको र थप सहयोग संकलन गर्ने क्रम जारी रहेको गुम्बा निर्माण समितिको प्रमुख सल्लाहकार दिनेश लोले जानकारी दिनुभयो। त्यस्तै स्थानीय तह, प्रदेश र संघमा पनि बजेट माग तथा पहल भैरहेको लोले बताउनुभयो।

हाल यस गुम्बा निर्माणको काम उपभोक्ता समिति मार्फत गरिरहेको छ। अब आउने दिनमा बजेटको प्रकृति हेरेर ठेक्का दिन पनि सकिने प्रमुख सल्लाहकार लोले बताउनुभयो। कानुनी प्रक्रिया अनुसार दर्ता, अडिट, कर भुक्तानी तथा नवीकरण सहित गुम्बा निर्माण अगाडि बढिरहेको उहाँले बताउनुभयो।

बौद्ध धर्म जोडिएको कुरा र लामाहरुको संयुक्त छलफल अनि स्थानीय समाजसेवी दमैसिङ लोको विशेष सहयोगमा निर्माण गरिएको यस गुम्बाको संस्थापक अध्यक्ष कुन्साङ लामा हुन्। हाल अध्यक्षको जिम्मेवारी स्थानीय बिजय लोले सम्हाल्नुभएको छ। अध्यक्ष पदको जिम्मेवारी २ वर्ष कार्यकालको रहेको छ। त्यसपछि साधारण सभा मार्फत अर्को अध्यक्ष चुन्ने वा सोही अध्यक्ष दोहोर्‍याउन सकिने छ।

यस गुम्बा निर्माणको कामलाई यहाँसम्म ल्याई पुर्‍याउन स्थानीय सरकार आउनुभन्दा पहिले देखि नै वडाको सबै लामाहरुको उत्तिकै साथ सहयोग र योगदान रहेका छन्। अहिले निर्माणको कामलाई निरन्तरता दिन विभिन्न तहहरुमा बजेट माग तथा पहल गर्ने काम समाजसेवी तथा यस गुम्बा निर्माण समितिको प्रमुख सल्लाहकार दिनेश लोले गरिरहनु भएको छ। उहाँको अनुसार अर्को आर्थिक वर्ष सम्ममा निर्माण सम्पन्न भैसक्ने छ।

२०५६ सालमा दर्ता भएको यस गुम्बाको शिलान्यास २०७८ माघ १ गते खेन्बो ग्याल्छेन (वरिष्ठ धार्मिक गुरु) द्वारा गरिएको हो। साथै गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दुर्गा देवी सुनुवार र वडा नं. २ को निवर्तमान वडाअध्यक्ष एक बहादुर खड्काको विशेष उपस्थितिमा शिलान्यास सम्पन्न गरिएको थियो। बौद्ध धर्मलम्बिहरुको बाक्लो बसोबास रहेको यस ठाउँमा बौद्ध धर्म सम्बन्धि कामकाज तथा कार्यक्रम गर्न गुम्बाको आवश्यकता ठानेर गुम्बा निर्माणको लागि स्थानीय कृष्ण कुमार लो, बिज बहादुर योञ्जन, तीर्थमाया योञ्जन र जीत बहादुर खड्काले ३ रोपनी खेतीयोग्य जग्गा दान गर्नुभएको हो। जुन मुख्य सडकबाट लगभग १०० मिटर दक्षिण दिशामा रहेको छ।

गुम्बा निर्माण सम्पन्न भैसकेपछि यहाँ लामा गुरु राखेर लामा पढाइने, धार्मिक कार्यक्रम र वाङहरु सञ्चालन गरिने, बौद्ध धर्मको प्रचारप्रसार तथा प्रवचन राखिने र ङ्युङ्ने (व्रत) राख्न सकिनेछन्। त्यस्तै बौद्ध धर्म अनुसार विवाह, व्रतबन्ध, छेवार, घेवा, पुजापाठ आदि कार्यक्रमहरु गर्न सकिने गुम्बा निर्माण समितिले बताएको छ।