बिर्ख वाईबा तामाङ, चैत्र २९, घ्याङलेख। सिन्धुलीको घ्याङलेख गाउँपालिकामा जारी प्रथम अध्यक्ष कपको आज हुने फाइनल खेल विवादका कारण रोकिएको छ। वडा नम्बर ५ बाट सहभागी फुटबल टिममा बाहिरी पालिकाको खेलाडी समावेश भएको भन्दै विवाद उत्पन्न भएको हो।पालिका बाहिरको खेलाडी समावेश भएको आशंकामा वडा नम्बर ४ का खेलाडीहरुले वडा नम्बर ५ का खेलाडीहरु विरुद्ध मौखिक रुपमा प्रोटेस्ट जारी गरेका थिए। हिजो दुबै वडा बीच भएको फुटबल प्रतियोगिता सम्पन्न भए लगत्तै विवाद उत्पन्न भएको थियो। जुन प्रतियोगितामा वडा नम्बर ५ पेनाल्टी सुट आउटमा विजयी भएसँगै फाइनलमा प्रवेश गरेका थिए।
प्रतियोगिता सम्पन्न भए लगत्तै वडा नम्बर ४ को तर्फबाट विवाद सुरु भएको थियो। सामान्य रुपमा रहेको विवाद आज जटिल बन्दै गएको हो। वडा नम्बर ४ का खेलाडीहरुले वडा नम्बर ५ का खेलाडीहरु विरुद्ध आज लिखित रुपमा प्रोटेस्ट जारी गरेका छन्। तर वडा नम्बर ५ का खेलाडीहरुले अहिलेसम्म प्रमाण जुटाउन सकेका छैनन्। प्रमाण जुटाउन नसक्दा विवाद सुल्झाउन सकेको छैन। आजै सम्पन्न हुनुपर्ने खेल अहिलेसम्म सुरु हुन सकेको छैन। नियम अनुसार पालिका भित्रका स्थायी वासिन्दा हुनुपर्ने भनिएको छ। अन्यथा उक्त खेलाडी टिम खेलमा समावेश हुन नपाउने नियम रहेको छ। यो विषयमा अहिले दुई पक्ष बीच छलफल चलिरहेको छ।

फरक मिडिया