घ्याङलेख गाउँपालिकामा जारी प्रथम अध्यक्ष कपको आज हुने फाइनल खेल विवादका कारण स्थगित

फरक मिडिया २८ चैत्र २०७९, बुधबार



बिर्ख वाईबा तामाङ, चैत्र २९, घ्याङलेख। सिन्धुलीको घ्याङलेख गाउँपालिकामा जारी प्रथम अध्यक्ष कपको आज हुने फाइनल खेल विवादका कारण स्थगित गरिएको छ। वडा नम्बर ५ बाट सहभागी फुटबल टिममा पालिका बाहिरको खेलाडी समावेश भएको भन्दै विवाद उत्पन्न भएको थियो। पालिका बाहिरको खेलाडी समावेश भएको आशंकामा वडा नम्बर ४ का खेलाडीहरुले वडा नम्बर ५ का खेलाडीहरु विरुद्ध हिजो मौखिक रुपमा प्रोटेस्ट जारी गरेका थिए। हिजो दुबै वडा बीच भएको फुटबल प्रतियोगिता सम्पन्न भए लगत्तै विवाद उत्पन्न भएको थियो। जुन प्रतियोगितामा वडा नम्बर ५ पेनाल्टी सुट आउटमा विजयी भएसँगै फाइनलमा प्रवेश गरेका थिए।

प्रतियोगिता सम्पन्न भए लगत्तै वडा नम्बर ४ को तर्फबाट विवाद सुरु भएको थियो। सामान्य रुपमा रहेको विवाद आज जटिल बन्दै गएको हो। वडा नम्बर ४ का खेलाडीहरुले वडा नम्बर ५ का खेलाडीहरु विरुद्ध आज लिखित रुपमा प्रोटेस्ट जारी गरेका थिए। तर वडा नम्बर ५ का खेलाडीहरुले प्रमाण जुटाउन नसक्दा विवाद सुल्झाउन सकेन। जसको कारण खेल स्थगित हुन पुग्यो।

अर्को सूचना प्रकाशित नभएसम्म खेल स्थगित हुने प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्कीले बताउनु भयो। उहाँको अनुसार चाँडै सूचना प्रकाशित गरेर स्थगित रहेको खेल सम्पन्न गर्ने भएको छ। यता भलिबल प्रतियोगिता सम्पन्न भैसकेकोले भोलि पुरस्कार वितरण गर्ने कार्कीले बताउनु भयो। पुरस्कार मा. वि. मरिण हायुटारको प्राङ्गणमा वितरण गरिने उहाँले बताउनुभयो।