बर्लिन — बायर्न म्युनिक आइतबार फेरि जर्मन फुटबल च्याम्पियन भएको छ । यो बायर्न ३४ औं पटक विजेता बनेको हो । दोस्रोमा रहेको बायर लेभरकुजनलाई फ्राइबर्गले २–२ को बराबरीमा रोकेपछि बायर्नले लिग जित्ने निश्चित भएको थियो । यसको अर्थ हो, अभाग्यशाली मानिँदै आएका ह्यारी केनले पहिलो पटक कुनै ठूलो उपाधि उचाल्ने छन् ।
शनिबार मात्रै बायर्न आरबी लाइप्जिगसँग ३–३ को बराबरीमा रोकिएको थियो । त्यसको अर्थ डिफेन्डिङ च्याम्पियन लेभरकुजनलाई फ्राइबर्गमा जसरी पनि जित्नु थियो, तर सकेन । अझ लेभरकुजनले दुई गोलले पछाडि रहेर अन्तिम १० मिनेटमा खेल बराबरीमा फर्काएको हो । तर, जाभी अलोन्सोको टिमले निर्णायक गोल भने हात पार्न सकेन । यसले जर्मन लिग उपाधि फेरि एकपल्ट बायर्नको हातमा गएको हो ।
गत सिजन मात्रै लेभरकुजनले लिग जितेर लगातार ११ वर्षसम्म लिग जितेको बायर्नको प्रदर्शनमा रोक लगाएको थियो । अलोन्सोले खेलाडी छँदा बार्यनका लागि तीनपल्ट लिग जिते । यसपल्ट प्रतिद्वन्द्वी प्रशिक्षक हुँदै उनले आफ्नो पूर्व क्लबलाई बधाई दिए ।
‘बधाई छ बायर्नलाई । बायर्न सिजनकै सबैभन्दा राम्रो टिम रह्यो, त्यसैले उपाधिको हकदार पनि बन्यो,’ अलोन्सोले भनेका छन् । बायर्नको यो सफलतामा सबैभन्दा बढी कोही एक खुसी हुनेछन् भने केन नै हुनेछन् । आफ्नो खेल जीवनमा यसअघि उनले केही पनि जित्न सकेका थिएनन् । त्यसैले आफ्ना साथीहरूसँग मिलेर उनले लेभरकुजनको खेल हेरेका थिए । एक खेलको प्रतिबन्धका कारण केनले लाइप्जिगविरुद्ध खेल्न पाएका थिएनन् ।
शनिबार बोरुसिया मोन्चेटग्लाडबाखविरुद्धको खेलमा उनी मैदानमा फर्कने छन् । यो नै त्यो खेल हुनेछ, जहाँ बायर्नलाई उपाधि प्रदान गरिनेछ । केही समय अगाडि मात्रै केनले गुनासो गरेका थिए, ‘धेरैले मेरो खेल जीवनबारे चर्चा गर्दा भन्ने गर्थे, यसले कुनै पनि उपाधि जित्न सकेका छैनन् । त्यसैले अब तिनै आलोचक चुपचाप हुन्छन् भने खुसी नै हुनेछु ।’ तर एउटा सत्य के पनि रह्यो भने यही एक उपाधिका लागि केनले केही नभए पनि १४ वर्ष कुरेका छन् ।
इंग्ल्यान्डका लागि सबैभन्दा बढी गोल गरेको कीर्तिमान बनाइसकेका केनले उमेर समूहमा छँदा पनि केही जित्न सकेनन् । उनले टोटेनहममा लामो समय बिताए, तर केही जितेनन् । गत सिजन उनी बायर्न त आए तर त्यही सिजन क्लबको लगातार उपाधि जितको यात्रामा पूर्णविराम लाग्यो । यसपल्ट कम्तीमा बायर्नको असाध्यै राम्रो गोल अन्तरका कारण लेभरकुजनको उपाधि रक्षा गर्ने सम्भावना यसअघि नै लगभग समाप्त जस्तै भइसकेको थियो ।
केन जत्तिकै खुसी हुने एउटा अर्को व्यक्तिमा बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पनी पनि हुनेछन् । उनले यसै सिजन मात्र प्रशिक्षकको जिम्मेवारीमा पाएका थिए । नयाँ प्रशिक्षक घोषणा गर्नु अगाडि उनी सम्भवतः बायर्नको पाँचौं वा छैटौं रोजाइ मात्रै थिए । तर, तिनै ३९ वर्षीय बेल्जियमका पूर्व खेलाडीले बायर्नलाई च्याम्पियन बनाएका छन् । उनको नियुत्तिकै बेला पनि आश्चर्य मान्नेहरू धेरै थिए । यसअघि उनी बर्नलीमा थिए । त्यति बेला त्यो क्लब प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो ।
तर, म्यानचेस्टर सिटीका पूर्व खेलाडी बायर्नमा फर्केयता टिममा सौहार्दता र सामीप्य बढेको मानिन्छ । कोम्पनीको प्रतिक्रिया छ, ‘प्रशिक्षकले के भन्नुपर्छ भने उपाधि जित्ने त खेलाडी हुन् । त्यसैले मैले उपाधि जितेको छु पनि भन्दिनँ । यो सबै खेलाडीकै काम हो । खेलाडीको प्रतिभाले फुटबलमा धेरै काम गर्छ । मेरो काम तिनै खेलाडीबाट उत्कृष्ट प्रदर्शन निकाल्नु मात्रै हो । मलाई विश्वास छ, यो काम मैले गरिरहने नै छु ।’

फरक मिडिया