नेपाल थामी समाज घ्याङलेख गाउँपालिका कार्यसमिति सिन्धुलीको आयोजनामा किराँत धर्मलम्बीहरुको मुख्य चाड उभौली पर्व तथा थामी जातीको भुम्या पूजा कार्यक्रम घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकर मान घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। घ्याङलेख गाउँपालिका वडा नम्बर २ बस्तिपुरमा थामी समुदायको बाहुल्यता रहेको छ। आफ्नो जातीय भाषा, धर्म, भेषभूषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ। प्रमुख अतिथि घलानले थामी समुदायको एकता र मेलमिलापको भावनाको कदर गर्दै खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, `नेपालको संवैधानिक व्यवस्था अनुसार थामी समुदायलाई अति सिमान्तकृत जनजातीको रुपमा मानिन्छ। तसर्थ थामी समुदायको उत्थान र विकासको लागी विशेष पहल गर्दै छौँ। पिछडिएका समुदायलाई अघि बढाउन घ्याङलेख गाउँपालिक कठिबद्ध रहेको छ।´ कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका थामी समुदायका व्यक्तित्वहरुलाई सम्मान गरिएका थिए। साथै स्थानीय र राष्ट्रिय स्तरका थामी कलाकारहरुको प्रस्तुति रहेका थिए।

कार्यक्रममा नेपाल थामी समाज घ्याङलेख गाउँपालिका कार्यसमितिका अध्यक्ष रुद्र बहादुर थामीको अध्यक्षता, घ्याङलेख गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता रोशन कुमार भ्लोन, नगर थामी समाजका अध्यक्ष राम कुमार थामी र घ्याङलेख गाउँपालिकाका पूर्व उपाध्यक्ष दुर्गादेवी सुनुवारको विशिष्ट आतिथ्यता, वडा नम्बर १ का वडा अध्यक्ष सोम बहादुर भोलन, वडा नम्बर ४ का वडा अध्यक्ष अमृत वाइबा लगायत अन्य व्यक्तित्वहरुको आतिथ्यता रहेका थिए। कार्यक्रमको सहजीकरण चन्द्र कुमार थामीले गर्नुभएको थियो।

थामी समुदाय नेपालको एक महत्वपूर्ण आदिवासी जनजाति हुन्, जो विशेषगरी दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ओखलढुंगा लगायतका पहाडी जिल्लामा बसोबास गर्छन्।
थामीको आफ्नै भाषा छ। जसलाई थाङ्मी खाम भाषा भनिन्छ। उनीहरूका परम्परागत पूजारीलाई ‘फेदाङमा’ वा ‘लामा’ भनिन्छ, जसले संस्कार तथा पूजा विधिहरू सञ्चालन गर्छन्। थामी समुदाय परम्परादेखि नै कृषिमा निर्भर छ। उनीहरूको सांस्कृतिक जीवन समृद्ध र मौलिक छ—लोकगीत, नृत्य, पोशाक, र पर्वहरूले थामी संस्कृतिलाई विशेष बनाएको छ। महिलाहरूले परम्परागत रूपमा फरिया, चोली र पटुका लगाउँछन् भने पुरुषहरूले डोका, भोटो र टोपी लगाउँछन्। नेपाल सरकारले थामी समुदायलाई “अत्यन्त पिछडिएको जनजाति” मा वर्गीकरण गरेको छ, र उनीहरू अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा पछि परेका छन्। आजभोलि थामी भाषा र संस्कृति संरक्षण गर्न विभिन्न संघसंस्थाहरूले प्रयास गरिरहेका छन्, जसले उनीहरूको मौलिक पहिचान जोगाउन मद्दत पुऱ्याइरहेको छ।

बिर्ख वाइबा तामाङ