सिन्धुलीको घ्याङलेख गाउँपालिकामा अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गरिएको छ। बिहिवार एक कार्यक्रमका बीच पालिकाले अनिवार्य तथा नि:शुल्क शिक्षा लागु भएको घोषणा गरेको हो। बागमती प्रदेश सरकार र घ्याङलेख गाउँपालिकाको सहकार्यमा पालिकामा विद्यालय बाहिर रहेका चार वर्षदेखि तेह्र वर्ष उमेर समूहका ३९ जना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराई उक्त कार्यक्रमको घोषणा गरिएको हो। सामाजिक, आर्थिक विपन्नता तथा विविध व्यक्तिगत समस्याका कारण विद्यालय बाहिर रहेका उक्त बालबालिकाहरुलाई विद्यालयको सक्रिय सहभागीतामा घर सर्वेक्षण गरेर विद्यालयमा भर्ना गराइएका हुन्। यो सँगै सिन्धुलीका दुई नगरपालिका सहित सात स्थानीय तह मध्ये घ्याङलेख अनिवार्य तथा नि:शुल्क शिक्षा कार्यान्वयन गर्ने पहिलो गाउँपालिका भएको छ। विद्यालय बाहिर रहेका ३९ जना बालबालिका मध्ये ५ जना `क´ वर्ग अन्तर्गतका अपांग रहेका छन्। ती बालबालिकाहरु भौतिक रुपमा विद्यालय उपस्थित हुन नसके पनि शैक्षिक निरन्तरताको लागी पालिकाले आवश्यक सहयोगमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। नेपालको संविधान २०७२ को धारा ३१ मा शिक्षा सम्बन्धि मौलिक हकले आधारभूत तहसम्म अनिवार्य तथा नि:शुल्क शिक्षाको ग्यारेन्टी गरेको छ।

कार्यक्रमको अवसरमा गाउँपालिकाले अन्तर मावि पालिका स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गरेको थियो। प्रतियोगितामा पालिका भित्रका ६ वटा माविहरुको सहभागीता रहेका थिए। जसमा मा.वि.मरिण हायुटार प्रथम, शारदा मा.वि भैंसे द्वितीय र नेत्रकाली मा.वि. तामाजोर तृतीय भएको छ। प्रतियोगीहरुले विभिन्न जातीको भाषा, भेषभूषा र संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए। प्रतियोगितामा विजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरि सम्मान गरिएको छ। साथै एक शिक्षक प्रतिनिधि सहित प्रति सहभागीलाई रु. ५ सय का दरले यातायात खर्च स्वरुप नगद प्रदान गरिएको थियो।

कार्यक्रममा घ्याङलेख गाउँंपालिकाका उपाध्यक्ष शंकरमान घलानको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत दताराम प्याकुरेलको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै वडा अध्यक्षहरु, शिक्षा शाखा प्रमुख, कार्यपालिका सदस्यहरु, घ्याङलेख गाउँपालिकाका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघका अध्यक्षहरु, सामुदायिक सिकाई केन्द्रका अध्यक्षहरु, विद्यालयहरुका प्रधानाध्यापकहरु, सामुदायिक सिकाई केन्द्रका परिचालिकाहरु, स्थानीय समाजसेवी, वुद्धिजीवीहरु लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।


विर्ख वाइबा तामाङ