सिन्धुली, घ्याङलेख। थामी समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तिपुरमा थामी युवाहरूको पहलमा पहिलोपटक थामी मातृभाषामा निर्मित म्युजिक भिडियो सार्वजनिक गरिएको छ। “सेवा सेर्ग्याम नोङ्साकी” शीर्षक रहेको यो गीतको भिडियो हिजो रमण थामी अफिसियल नामक सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको छ। उक्त गीतमा गायक बुद्ध थामी रोईमी र गायिका नम्रता थामीको सुमधुर स्वर रहेको छ। गीतका शब्द चन्द्र थामीले रचना गरेका हुन् भने संगीत एरेन्ज रमण थामीले गरेका छन्। मिक्सिङ र मास्टरिङ सुन्दर लामाले गरेका छन् भने भिडियोको नृत्य निर्देशन दिल कुमारी थामीले गरेकी हुन्। भिडियोको छायांकन निर्देशन तथा सम्पादन रणधिर श्रेष्ठले गरेका छन्। भिडियोमा थामी समुदायका युवायुवतीहरूको आकर्षक अभिनय देख्न सकिन्छ, जसमा कलाकारहरू दिल कुमारी थामी, उर्मिला थामी, सुकृती थामी, सीता थामी, ममिता थामी, सन्जय थामी, राजकुमार थामी, सिम्रन थामी र अनुशा थामीको अभिनय समावेश गरिएको छ। थामी समुदाय भित्र मात्र होइन, बहुसांस्कृतिक समाजका दर्शकहरूले समेत यो प्रयासको खुलेर प्रशंसा गरेका छन्। नेपालमा लोपोन्मुख भाषाहरूको सूचीमा परेको थामी भाषाको संरक्षणका लागि यस्तो सांगीतिक प्रस्तुति अत्यन्त महत्वपूर्ण मानिएको छ। यसले भाषा मात्र होइन, संस्कृति, पहिरन, नृत्य, चालचलन र सामुदायिक भावनालाई पनि उजागर गर्न मद्दत गरेको छ।
यस अभियानमा सहभागी सम्पूर्ण कलाकार, प्राविधिक र स्थानीय सहयोगदाताहरूलाई बस्तिपुर थामी समुदायले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

विर्ख वाइबा तामाङ