टुनिभन्ज्याङ्ग युवा समाज ‘ए’ ले जित्यो घ्याङलेख खुल्ला पुरुष भलिबल उपाधि

विर्ख वाइबा तामाङ ११ आश्विन २०८२, आईतवार



सिन्धुलीको घ्याङलेख गाउँपालिकामा आज सम्पन्न पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टुनिभन्ज्याङ युवा समाजका समूह `ए´ले जितेको छ।

प्रतियोगिताको उपविजेता पनि आयोजक समूहकै समूह `बि´ भएको छ। आयोजकले आफ्नो तीन समूह सहभागी जनाएका थिए। त्यस्तै सिम्ले युवा समाज तेस्रो र अमले टाइगर `ए´ सान्त्वना भएका छन्। प्रतियोगितामा १२ समूहले सहभागी जनाएका थिए।

प्रतियोगितामा प्रथम र दोस्रो हुने समूहलाई एउटा खसी, ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो हुने समूहलाई एउटा पाठी, ट्रफी, मेडल र प्रमाणपत्र त्यस्तै सान्त्वना हुने समूहलाई एउटा रातो भाले प्रदान गरिएको छ।

असोज १० गतेदेखि सुरु भएको प्रतियोगिता भोलि सम्पन्न हुने तालिका भएपनि आजै सम्पन्न भएको छ। उक्त प्रतियोगिता घ्याङलेख गाउँपालिका १ टुनिभन्ज्याङ्ग खेल मैदानमा सम्पन्न भएको हो। रेफ्रीको मुख्य भुमिकामा अर्जुन पाख्रीन रहेका थिए।